अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा ‘हाम्रो भरोसा नेपाल’ र ‘महिला शशक्तिकरण तथा परिवर्तनशील संस्था नेपाल’को संयुक्त आयोजना एवं रत्ननगर नगरपालिकाको समन्वय तथा सहयोगमा ‘युवाहरुको बढ्दो वैदेशिक यात्रा ः रहर कि बाध्यता’ विषयक वक्तृत्वकला प्रतियोगिता रत्ननगर नगरकार्यपालिकाको सभाहलमा सम्पन्न भएको छ ।
नगरप्रमुख प्रलाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य राख्दै नगरशिक्षा अधिकारी नारायणप्रसाद वाग्लेले देश विकासको मेरुदण्डका रुपमा रहेका युवाशक्ति विदेश पलायन रोक्न युवाहरुलाई उद्यमशीलतासँग जोड्नुपर्ने बताए ।
‘हाम्रो भरोसा नेपाल’का अध्यक्ष सिन्धु ढकालले सञ्चालन तथा सहजीकरण गरेको प्रतियोगितामा रत्ननगरका सामुदायिक तथा संस्थागत विद्यालयका १९ जना विद्यार्थीले सहभागिता जनाएका थिए ।
प्रतियोगितामा शिक्षा विकास आमाविका कृतिका बगाले प्रथम, स्काइराइडर आमाविका दिप्सन खड्का द्वितीय, माधवपुर माविका सुजन सिंखडा तृतीय तथा पञ्चकन्या विद्या मन्दिरका सक्षम सापकोटाले प्रोत्साहन पुरस्कार हासिल गरे ।
प्रतियोगिताका निर्णायकहरुमा भरतपुर महानगरका पूर्व नगरशिक्षा अधिकारी महेन्द्रप्रसाद पौडेल, साहित्यकार एवं रत्ननगर वाङ्मय प्रतिष्ठानका सदस्य धनराज गिरी र रत्ननगर नगरपालिकाका शिक्षा अधिकृत सुमन सिलवाल रहेका थिए ।
प्रतियोगितामा विजयी तथा सहभागी छात्रछात्राहरुलाई नगरप्रमुख प्रलाद सापकोटा, नगर उपप्रमुख यादवप्रसाद पाठक, प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।