रत्ननगर नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा स्वास्थ्यकर्मीहरुका लागि आँखा, नाक, कान, घाँटी तथा मुख स्वास्थ्यसम्बन्धी अभिमुखीकरण कार्यक्रम बकुलहर रत्ननगर अस्पतालमा सम्पन्न भएको छ ।
बकुलहर रत्ननगर अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. मदन ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा मेसु ज्ञवालीले समुदायसँग नजिकमा रहने स्वास्थ्यकर्मीहरुले आँखा, नाक, कान, घाँटी तथा मुख स्वास्थ्यसम्बन्धी चेतना अभिवृद्धि गर्दै स्वास्थ्यकेन्द्रमा प्राथमिक उपचार सम्भव नभएका बिरामीलाई बकुलहर रत्ननगर अस्पतालमा पठाउन आग्रह गरे ।
इएनटी तथा ओरल हेल्थका समस्या भएका बिरामीलाई रोग नबल्झिँदै अस्पताल पठाउन सकिए जटिल अवस्था नआउने उनको भनाइ थियो ।स्वास्थ्य शाखाका सिनियर अहेव अधिकृत नरहरि श्याम शर्माले सञ्चालन गरेको अभिमुखीकरण कार्यक्रममा बकुलहर रत्ननगर अस्पतालका इएनटी तथा ओरल हेल्थ विशेषज्ञ डा. मालती दुलालले प्रशिक्षण दिएकी थिइन् । कार्यक्रममा रत्ननगर नगरपालिकाका १६ वटै वडाका स्वास्थ्यचौकी तथा स्वास्थ्यकेन्द्रका स्वास्थ्यकर्मी एवं बकुलहर रत्ननगर अस्पतालका स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।