रत्ननगर । रत्ननगर नगरपालिकाले कृषिसँग नगरप्रमुख कार्यक्रम २०८१–८२ अन्तर्गत अनुदानमा ई–रिक्सा हस्तान्तरण गरेको छ । रत्ननगर नगरपालिकाका नगरप्रमुख प्रलाद सापकोटाले रत्ननगर–१५ शीतल चोक निवासी अपाङ्गता भएका विपन्न राजकुमार विकलाई अनुदानमा ई–रिक्सा प्रदान गरेका हुन् । १३ वर्षअगाडि करेन्ट लागेर बायाँ हात गुमाएका राजकुमारले नगरप्रमुखसँग कृत्रिम हात सहयोग मागेका थिए । उनको याचना तत्कालै नगरप्रमुख प्रलाद सापकोटाले पूरा गरेका थिए । कृत्रिम हात जडान भएपछि पनि पाँच जनाको परिवार पाल्ने जिम्मेवारी उनकै काँधमा आयो । तरकारी बैच्दै आएका उनले ई–रिक्सा भए जीविकोपार्जन गरी परिवार पाल्न सहज हुने भन्दै सहयोग गरिदिन नगरप्रमुखसमक्ष निवेदन गरे । विपन्न, अपाङ्गता भएका र उद्यम गरिखाने वर्गका लागि नगरपालिका साथसाथै रहेको नगरप्रमुखले बताएपछि राजकुमारले तीन लाख रुपैयाँमा ई–रिक्सा खरिद गरेका हुन् । जसमध्ये ७० प्रतिशत अर्थात् दुई लाख १० हजार रुपैयाँ कृषिसँग नगरप्रमुख कार्यक्रमअन्तर्गत अनुदान दिइएको हो भने तीन प्रतिशत अर्थात् ९० हजार रुपैयाँ राजकुमारले व्यहोरेका हुन् । अनुदानमा ई–रिक्सा पाएपछि खुसी हुँदै राजकुमारले भने, ‘गरिब र विपन्नका लागि स्थानीय सरकार रहेको अनुभूति भएको छ । मेयर साब साच्चै विपन्नको अभिभावक बन्नु भएको छ । म मेयर साबलगायत रत्ननगर नगरपालिका परिवारप्रति धन्यवाद दिन चाहन्छु । नगरप्रमुख सापकोटाले राजकुमारलाई पान नम्बर लिएर वैधानिकरुपमा व्यापार गर्न सुझाव दिँदै कृषिसँग जोडिएर उद्यमी बन्न चाहने नगरवासीका लागि नगरपालिकाले प्रोत्साहन गर्ने बताए । ई–रिक्सा हस्तान्तरण कार्यक्रममा आर्थिक विकास समितिका संयोजक कलाधर पौडेल, रत्ननगर १५ का वडा सदस्य शिव तिवारी र कृषि अधिकृत संयोग पौडेल लगायतको सहभागिता रहेको थियो ।